Hamro Sanchar

आधारातसम्म कार्यस्थलमा खट्छन् वडाअध्यक्ष फुयाल

प्रदिप नेपाली प्रकाशित : २०८० जेठ, २१ गते


काठमाडौं, जेठ २१- विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी नभएको गुनासो बढ्दै गएका बेला काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि भने दिनरात नभनी विकास निर्माणमा लागि परेका छन् ।

वडाको ‘ग्रिनहिल सिटि गेटदेखि अर्याल गाउँसम्मको सडक अबेर राती १२ बजे मात्र कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । उक्त सडक कालोपत्रे गर्ने काम सम्पन्न नहुन्जेलसम्म वडाअध्यक्ष प्रकाश फुयालसहित वडासदस्य कपिल खनाल, विकास केसीलगायतको टोली रातको १२ बजेसम्म कार्यस्थलमै बसेर अनुगमन गर्दै कामदारसँगै खटिएका थिए ।

वडाको गौरीनाथ देवलधारा, अधिकारी गाउँ, लामिछाने गाउँ, गजुरेल डाँडा, ग्रिनहिल सिटि, नेपालडाँडा हुँदै शिव पञ्चायन मन्दिर अर्याल गाउँसम्मको करिव ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । यस सडकले नगरपालिकाका ६/७/८ तथा गोकर्णेश्वर ७ मा बसोवास गर्ने समुदाय प्रतक्ष्य लाभान्वित हुनेछन् ।

अनुगमनमा पुगेका नगरप्रमुख उपेन्द्र कार्की

यससँगै वडाका मुख्य सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएका छन् । वडाध्यक्ष फुयालकाअनुसार विपत ब्यबस्थापनको काम हुँदैछ भने सडक ढलान र भित्री सडक बाटो निर्माणका कार्यलाई पनि तीब्रता दिइएको छ ।

वडाध्यक्ष फुयालले आफ्नो वडामा विकास निर्माणको काम थालेपछि स्थानीय उत्साहित भएका छन् । हिउँदमा धुलो र बर्षायाममा हिलोबाट आजित स्थानीय अब यस्ता समस्या हट्ने भएपछि उत्साहित भएका हुन् । वडा कार्यालयले विकास निर्माण तथा बाटोघाटोका काम कतै सम्पन्न गरेको छ भने कतै कामलाई तीव्र गतिमा अगाडि बढाइरहेको वडासदस्य विकास केसीले जानकारी दिए ।

वडालाई आर्थिक रुपमा समृद्ध बनाउने, सडकको स्तरोन्नती गर्ने, कच्ची सडक पिच गर्ने, धार्मिक एवं पर्यटकिय क्षेत्रको संरक्षण गर्ने लगायतका योजना लिएर वडाअध्यक्ष फुयाल चुनावकाे बेला मतदाताकहाँ पुगेका थिए ।

उनि भन्छन्, ‘म मेरो पदको सहि उपयोग गरेर एउटा नमुना बनेर देश र जनताको लागि सेवा गरेर देखाउछु । त्यति मात्र होईन, म आफ्नो व्यक्तिगत हित र पार्टीगत स्वार्थभन्दा माथि उठेर आफ्ना जिम्मेवारी बहन गर्दै जनताको हितका काममा रातदिन लाग्ने प्रण गर्दछु । आगामि दिनमा काम गर्दा कसैलाई पनि गुनासो राख्ने मौका दिने छैन भन्ने कुरा प्रष्ट पार्न चाहन्छु । यो मेरो बोलीले मात्र नभएर मेरो कार्यबाट पनि देख्न सकिने छ । विकास निर्माणका सम्बन्धमा उचित सल्लाह सूझाव दिनहुन सबै सर्वसाधारणमा आग्रह समेत गर्दछु ।’

खानेपानी, शिक्षा, स्वास्थ्य, सडक जुनबेला जे गर्नुपर्छ आवश्यकता हेरेर काम गर्ने उनको भनाइ छ ।

यस्तै निर्माण कार्यको अवलोकन गर्न पुगेका नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाका यी र यस्ता कार्यमा प्रतक्ष्य वा अप्रतक्ष्य रूपमा साथ दिने सम्पुर्ण जनप्रतिनिधि, वडावासी दाजुभाई तथा दिदिबहिनिहरुलाई धन्यवाद दिएका थिए ।


प्रतिकृया दिनुहोस्