Hamro Sanchar

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै पीडितको राष्ट्रपति समक्ष निवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १२ गते


काठमाडौं, जेठ १२- रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेकी छन् ।

टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् । सरकारले पूर्व सांसद रमेत रहेका रेशम बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएपछि बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् । सरकारले आगामी सोमबार गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी सुरु गरेको छ । २०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व चौधरीले गरेका थिए । राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफी मिनाहा गरेर राजनीतिलाई नै अपराधीकरणसँग मितेरी नगाँस्न बोहराले निवेदनमा आग्रह गरेकी छन् ।


प्रतिकृया दिनुहोस्