
काठमाडौं, जेठ १०- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनभित्र चेन अफ कमान्डको पालना गरी एकजुट भएर अघि बढ्न उच्च प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।
बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायतलाई बोलाएर उनले गुटबन्दी नगर्न चेतावनी दिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक कुँवर र अन्य केही उच्च अधिकृतबीच समन्वयको अभावको सूचना पाएपछि उनले प्रहरीका उच्च अधिकारीलाई गृह मन्त्रालयमा बोलाएका हुन् ।
यस्तो प्रवृत्तिले प्रहरी संगठन कमजोर हुने भन्दै उनले एकजुट हुन निर्देशन दिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । सो निर्देशनमा आइजिपी, एआइजीहरू, प्रहरी प्रवक्ता तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी सहभागी थिए ।
साथै, नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतमा मुद्दा दर्ता नहुँदै अनुसन्धानमा गोप्य विवरण बाहिरिएको विषयमा पनि छानबिन गरिने उनले बताएका छन् ।