विराटनगर, बैशाख ३०- मोरङको बूढीगंगा गाउँपालिकाका एक व्यक्ति एक लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको हाइटेन्सन लाइनको पोलमा बसेको नौ घण्टा भएको छ । बूढीगंगा–७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग गर्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् । उनी शनिबार बिहान करिब ६ बजे हाइभोल्टेज पोलमा चढेका थिए । गाउँपालिकाले निर्माण गरेको सडक तथा रिटेन्सन वालको गुणस्तरमा प्रश्न उठाउँदै उनी पोलमा चढेका हुन् ।
गाउँपालिकाका अध्यक्ष जितनारायण थापा आएर आफूसँग प्रत्यक्ष छलफल नगरुन्जेल पोलबाट नओर्लने उनको अडान छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले पोल क्षेत्रमा नेपाल प्रहरीले पहरा दिए पनि उनलाई झार्न जबर्जस्ती गर्ने अवस्था नरहेको बताए ।