
काठमाडौं, बैशाख २०- प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् ।
कांग्रेसबाट मन्त्री हुनेहरुमा कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु रेहेका हुन् ।
सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन् ।
कांग्रेसबाट यसअघि पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपुर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।
यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूणता पाएको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन ।