Hamro Sanchar

एसिसी प्रिमियर कप : मुलपानी क्रिकेट मैदानमा निशुल्क प्रवेश गर्न पाइने

प्रदिप नेपाली प्रकाशित : २०७९ चैत्र, २२ गते


Advertisement

काठमाडौं, चैत २२- पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको मुलपानी क्रिकेट मैदानमा हुने एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप निशुल्क हेर्न पाइने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको पहलमा आगामी बैशाखमा हुने एसिसी प्रिमियर कप हेर्न मैदानमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको हो ।

नेपाल क्रिकेट संघसँगको छलफल पश्चात् दर्शक तथा खेल प्रेमीहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको नगरप्रमुख कार्कीले हाम्रोसंचारलाई जानकारी दिए । नगरपालिकाको वडा नम्बर-६ स्थित मुलपानीमा रहेको क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हेर्ने सपना लामो समयपछि पुरा भएको र क्रिकेट संघले आफुहरुको आग्रहलाई पनि स्वीकार गरेकोमा नगरप्रमुख कार्कीले खुसि व्यक्त गरे । साथै एसिसी प्रिमियर कप नगरबासी तथा देशकै गौरवको बिषय भएकाले सबै मिलेर सम्पन्न गर्नुपर्ने उनको भनाई छ ।

उनले एसिसी प्रिमियर कप संचालन र समस्या समाधानका लागि नगरपालिका, क्रिकेट संघ, खेलकुदसँग सरोकार राख्ने सरोकारवाला व्यक्ति, सुरक्षा निकाय सम्मिलित समिति बनाएर काम सुरु भएको जानकारी दिए । उनकाअनुसार क्रिकेट मैदानसम्म पुग्ने सडकको समस्या, पिउने पानी, बाथरुम, बिजुली बत्ति, सवारी पार्किङ, दर्शक तथा समर्थक बस्ने ठाउँ, सुरक्षा व्यवस्था लगायतका आवश्यक तयारीका कामहरु तिब्र गतिमा भैरहेको छ ।

पुननिर्माणसँगै यस मैदानमा आगामी दिनमा यस्ता नेपालका खेलहरु निरन्तर हुने नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठक पाठकले बताए । उनले भने, ‘यो सुरुआत हो । आगामी दिनमा मुलपानीलाई अन्तराष्ट्रिय भेन्यु बनाउन क्यानले काम गरिरहेको नै छ । पुननिर्माणको काम राम्रो रुपमा अघि बढिरहेको छ । क्रिकेट मैदानमा आवश्यक ड्रेसिङ रुम लगायतको निमार्णको कामहरु अन्तिम चरणमा पुगेको छ । यो प्रतियोगितालाई भब्य र सभ्य रुपमा संचालनका लागि स्थानिय सरकारले राम्रो साथ दिएको छ ।’

मैदान तयारीको काम लगायतका अन्य पुननिर्माणका कामहरु अन्तिम चरणमा पुगेको समेत पाठकले जानकारी दिए ।

मुलपानीको माथिल्लो मैदानमा पहिलो अन्तराष्ट्रिय खेलका रुपमा बैशाख ५ गते हङकङ र सिंगापुरबीचको खेल हुदैछ ।

जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा त्रिवि मैदानमा खेल्नेछ । यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ ।

माथिल्लो मुलपानी मैदानमा एसीसी प्रिमियर कपको एक सेमिफाइनल समेत गरेर ११ खेल आयोजना हुदैछ ।

यो पनि पढ्नुहोस्- एसिसी प्रिमियर कप : तयारीमा जुट्यो कागेश्वरी मनोहरा नगरपालिका र क्रिकेट संघ, समस्या समाधानका लागि आजै समिति बन्ने


प्रतिकृया दिनुहोस्