Hamro Sanchar

अमेरिका पठाइदिने बहानामा साढे १३ करोड रुपैयाँ ठगी, ३ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १३ गते


काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । २०७७ सालदेखि अहिलेसम्म ८१ जनालाई उनीहरूले अमेरिका पठाइदिने बहानामा साढे १३ करोड रुपैयाँ ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी​ सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-४ सितापाखा हाइट बस्ने ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्वरे नगरपालिका-१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथर फिदिम नगरपालिका-७ का ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको हो । प्रहरीको अनुसन्धानअनुसार उनीहरूले चिनजान भएका व्यक्ति र उनीहरूका आफन्तबाट प्रतिव्यक्ति १५ देखि २० लाख उठाएको देखिन्छ।

उनीहरूले भुटानी शरणार्थीको नाममा दर्ता गर्ने गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरूसँग सेटिङ मिलाएको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र, निर्णयहरू एवं पत्रपत्रिका र अनलाइनहरूमा आएका फोटो र न्यूजहरू तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीहरूको सरुवासम्बन्धी समाचार समेत पीडितहरूलाई सेयर गरी शतप्रतिशत काम हुन्छ हुन्छ भनेर ठगी गरेको खुलेको छ ।

शरणार्थी शिविर अनुगमन हुन लागेको बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर,सौराहा, काठमाडौँ बोलाउने गरेको अनुसन्धानबाट खुलेको छ ।


प्रतिकृया दिनुहोस्