Hamro Sanchar

मुलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, नेपालसहित १० राष्ट्र भिड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, ७ गते


Advertisement

काठमाडौं, चैत ७- आउँदो वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ ।

पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप-२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फर्म्याटमा खेलाइने प्रिमियर कप आयोजना गर्दैछ ।

प्रतियोगिता त्रिवि मैदानसँगै मुलपानी क्रिकेट मैदानमा हुने कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जानकारी दिए । जसको तयारीका लागि सोमबार नगरप्रमुख कार्की र नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्द बिच मुलपानी क्रिकेट मैदानमा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता संचालनको लागि वृहत छलफल भएको छ ।

नेपाली क्रिकेटलाई अन्तर्रािष्ट्रय स्तरमा चिनाउन, आन्तिरक प्रतियोगिता बढाउन र खेलाडीमा थप निखारता ल्याउन मूलपानी क्रिकेट मैदानलाई सबैले आशाको केन्द्रका हेरिएकाले छिटो सम्पन्न गर्न पहल गर्ने नगरप्रमुख कार्कीले बताए ।

प्रतियोगिता वैशाख ११ मा सुरू भएर वैशाख २५ मा सकिनेछ । प्रतियोगितामा नेपालसहित १० राष्ट्रबीच प्रतिस्पर्धा हुँदैछ ।

समूह ‘ए’ मा नेपालसहित कुवेत, कतार, साउदी अरेबिया र युएई छन् । समूह ‘बी’ मा बहराइन, हङकङ, मलेसिया, ओमान र सिंगापुर छन् । प्रतियोगितामा समूह चरण, सेमिफाइनल र फाइनल गरी २४ खेल हुनेछन् ।

साउदी अरेबिया र बहराइन एसिसी च्यालेन्ज कपको विजेता र उपविजेताको रुपमा प्रिमियर लिगमा छनोट भएका थिए ।

प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ । एसिया कप पाकिस्तानमा हुने बताइए पनि भारतले पाकिस्तानमा गएर नखेल्ने भनेकाले कुन स्थानमा हुने अझै टुंगो छैन ।

एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ । एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिकृया दिनुहोस्