काठमाडौं । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।
मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ । उक्त समय घर्निन लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरिएको हो । सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ । गठबन्धनका तर्फबाट एमालेबाट निर्वाचित सांसदले उम्मेदवारी दर्ता गराउनेछन् । एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।
सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली कांग्रेस भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन् ।
सभामुखको उम्मेदवारीबारे छलफल गर्न आज बिहान ९ बजे कांग्रेसको पदाधिकारी बैकठक बस्दैछ ।