Hamro Sanchar

छिटो भन्दा छिटो पार्टीमा आउन घनश्याम भूसाललाई नेकपा एसको आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २८ गते


काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट नेता घनश्याम भूसाललाई छिटो भन्दा छिटो पार्टीमा आउन आग्रह गरेको छ । बुधबार महासचिव बेदुराम भुसालले घनश्यामलाई एक पत्र लेखी एकीकृत समाजवादीमा आवद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।

‘यतिबेला नेपाली समाजमा विद्यमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरुलाई समेत समाजवादी कार्यदिशा अंगालेको यही नेकपा एकीकृत समाजवादीमा आवद्ध गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौं भन्ने पनि अनुरोध छ’ पत्रमा भनिएको छ ।

एकीकृत समाजवादीले एमालेको नवौं महाधिवेशनको निर्णयप्रति अहिले पनि प्रतिबद्ध रहेको भन्दै नेपाली क्रान्तिको कार्यदिशा अहिले पनि त्यही रहेको बताएको छ । यसअघि घनश्याम भूसालले २६ पुसमा एक वक्तव्य जारी गर्दै एमाले र माओवादी दुवैले इतिहासलाई आफ्नो आफ्नो संकीर्णतामा व्याख्या गर्न थालेको र एकीकृत समाजवादीले उक्त जडताबाट मुक्त हुने कोसिस गरेको बताएका थिए ।

उनले आफूसँग एकताका लागि एकीकृत समाजवादीको वार्ता समितिले छलफल गरेको भन्दै केही प्रस्ताव राखेका थिए । उक्त प्रस्तावको जवाफको अपेक्षा गरेका थिए ।

 


प्रतिकृया दिनुहोस्