Hamro Sanchar

परिवर्तन गर्न सक्ने भएकाले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेहको हुँ : शेखर कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद शेखर कोइरालाले परिवर्तन र रूपान्तरण गर्न सक्ने व्यक्ति भएकाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

संसदीय दलको नेताका लागि मनोनयन दर्ता गर्नुअघि सोमबार सिंहदरबारअगाडि रहेको बसेरा होटलमा भएको संस्थापनइतर समूहको बैठकमा शेखरले १४ औं महाधिवेशनमा पनि आफूहरू परिवर्तन र रूपान्तरणका लागि लागेको बताए ।

‘हामी परिवर्तन र रूपान्तरणका लागि १४ औं महाधिवेशनमा एकजुट भएका थियौं । त्यो परिवर्तन र रूपान्तरण गर्न सक्ने व्यक्ति गगन थापा भएकाले मैले उनलाई हाम्रोतर्फबाट संसदीय दलको नेतामा प्रस्ताव गर्छु,’ शेखरले बैठकमा भने ।

संस्थापनइतर समूहले आफूहरूसँग ३२ सांसद पुगेको दाबी गरेको छ। अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि जोडिँदा संख्या बढ्ने नेताहरूले बताएका छन्।
प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन् । संस्थापन समूहबाट कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार बन्दै छन् । कांग्रेस संसदीय दलको नेताका लागि भोलि मंगलबार चुनाव हुँदैछ ।


प्रतिकृया दिनुहोस्