काठमाडौं, पुस ५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले व्यावसायिक रूपमा ५ रोपनीभन्दा माथिको जग्गामा खेती गर्ने किसानलाई १ लाख रुपैयाँ अनुदान दिने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सार्वजनिक सुचना जारि गर्दै नगरपालिकाको आर्थिक वर्ष ०७९/८० मा सञ्चालन गरिने कृषि कार्यक्रमअन्तर्गत व्यावसायिक खेती गर्ने कृषकहरूलाई ५० प्रतिशत अनुदान दिन लागिएको जानकारी दिएका हुन् । उक्त कार्यको लागि नगरपालिकाले नगरभित्रका कृषि/फार्म समुह तथा कृषि सहकारीले आवेदन दिन र अनुदान लिन चाहनेले सूचना प्रकाशित भएको मितिदेखि ७ दिनभित्र आवेदन दिन अनुरोध गरिएको छ ।
नगरपालिकाले प्राङ्गारिक मल र कृषि चुनसमेत अनुदानमा वितरण गर्ने उल्लेख गरिएको छ भने मलमा ५० प्रतिशत र चुनमा ८० प्रतिशत अनुदान दिइने उल्लेख गरिएको छ । त्यस्तै प्लास्टिकका घर निर्माण र स्कुस खेती कार्यक्रममा ५० प्रतिशत अनुदान दिइनुका साथै किसान सुचिकरण कार्यक्रम सञ्चालन गरिने समेत सार्वजनिक सुचना मार्फत जानकारी दिइएको छ ।