
काठमाडौं, मंसिर १८- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ को आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
“लैङ्गिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ नगरपालिकाको संयोजनमा वडाको मुलपानी पाटीटारचौर देखि सुरु गरिएको सो प्रभातफेरी कार्यक्रमको नेतृत्व वडाअध्यक्ष प्रकाश फुयालले गरेका थिए ।
प्रभातफेरी कार्यक्रममा वडाभित्र संचालित सरकारी तथा संस्थागत विद्यालयका छात्र-छात्रा, शिक्षक, बिभिन्न सामाजिक संघसंस्था, सहकारी संस्था, नेपाल प्रहरी, महिला सञ्जाल तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रभातफेरी कार्यक्रम वडाको पाटीटारचौरबाट वडाभित्रका बजार परिक्रमा गरी वडा कार्यालय अगाडीको श्री आनन्द भैरव माद्यामिक विद्यालयमा आएर सभामा परिणत भएको थियो ।
कार्यक्रममा सरकारी तथा संस्थागत विद्यालयका करिब सात सय विद्यार्थीको उपस्थिति रहेको थियो । सहभागीहरूले मानव अधिकार सबैको लागि, महिला हिंसा अन्त्य गरौँ कुरा हैन काम गरौँ, खुलेर बोलौँ विभेद रोकौँ, महिला हिंसा रोकौँ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।
कार्यक्रममा वडाअध्यक्ष फुयालले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न आह्वान गरेका थिए । वडाअध्यक्ष फुयालले परिवर्तनको सुरुवात आफु र आफ्नै परिवारबाट गर्नुपर्ने भन्दै त्यसतर्फ ध्यान पुर्याउन अनुरोधसमेत गरेका थिए ।
प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मनाउने गरिन्छ । अंग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने लैङ्गिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम गरी मनाइने हुनाले यसलाई लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान भनिएको हो । बालबालिकाले कुनै हिंसा भोग्नु नपरोस भनी हिंसाका विरुद्ध यो दिवस मनाएको हो । बिक्रम सम्वत २०५४ साल देखि लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम गरी अभियान मनाउने गरिएको थियो । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न उनीहरुको सम्मान पूर्वक बाच्न पाउने सबै अधिकार सुनिश्चित गर्न तथा विकास सम्मानको साझेदारी रुपमा स्थापित गर्न यो अभियान संचालन गर्दै आईएको छ । तर जति नै अभियान संचालन गरेता पनि देशमा निर्मला पन्तको बलात्कार पछि हत्या भएका घटना होस वा महिलाहरुमा हुने अरु कुनै लैङ्गिक हिसांका घटना बढ्दै गएका छन् । दिनप्रतिदिन महिलाहरुमा हुने बलात्कार लगायतका हिंसा बढ्दै गईरहेका छन् ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।