Hamro Sanchar

फरार भएको छैन भन्दै भीम रावलले ओलीलाई दिए यस्तो जवाफ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, १२ गते


Advertisement

काठमाडौ, असोज १२- एमालेका नेता भीम रावलले आफू पार्टी कमिटीसँग निरन्तर सम्पर्कमै रहेको बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता रावल सम्पर्कमै नरहेको भन्दै एमालेका सुदूरपश्चिम प्रदेशका नेताहरूसँग चासो राखेपछि रावलले आफु फरार नरहेको बताएका हुन् ।

आफू अहिले अछाममा चुनावी कार्यक्रममा व्यस्त रहेको उनले बताए । ‘म पार्टी कमिटीसँग नियमित सम्पर्कमै छु । जिल्ला कमिटी अछामसँग चुनावी कार्यक्रम र योजना बनाउन क्रियाशील नै छु । अध्यक्षज्यूले कोसँग के भन्नुभयो मलाई जानकारी रहेन । एक-दुई दिनमै काठमाडौं आउँछु,’ रावलले भने ।

गएको सोमबार एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम अध्यक्ष चन्द्र बोहोरालगायत अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

त्यसक्रममा ओलीले रावललाई लक्षित गर्दै पार्टीको अनुशासनमा नेताहरू रहनु पर्ने भन्दै नेतृत्वसँग सम्पर्कमा रहनुपर्ने बताएका थिए । अछाम क्षेत्र नम्बर १ बाट रावल सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । उनी उम्मेदवार हुने र नहुने अन्तिम निर्णय केन्द्रबाटै हुनेछ । अछाम १ बाट तीन पटक निर्वाचित रावल यस पटकको उम्मेदवारीबारे आफैं पनि अनिर्णीत छन् ।


प्रतिकृया दिनुहोस्