Hamro Sanchar

राष्ट्रपति भण्डारीले गरिन् ५ वटा विधेयक प्रमाणीकरण, नागरिकता विधेयक के भयो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, २८ गते


Advertisement

काठमाडौं, भदौ २८- राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मङ्गलवार विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएकाे छ ।

उनले तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९, स्ट्यान्डर्ड नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई छोडेर अरू पाँच विधेयक प्रमाणीकरण गरेकी हुन् ।

प्रतिनिधि सभाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाएको नागरिकतासम्बन्धी विधेयक साउन २९ मा १५ बुँदे सुझावसहित भण्डारीले फिर्ता गरेकी थिइन् ।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक संसदका दुबै सदनले जस्ताको तस्तै पारित गरेका थिए । प्रतिनिधि सभाले उक्त विधेयक फेरि भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो ।

संसदले पारित गरेर पठाएका विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


प्रतिकृया दिनुहोस्