काठमाडौं, भदौ १४- एमाले नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेतले आफूविरुद्ध गलत प्रचार भएको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी गर्ने भएका छन् ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय चुनाव अघि उम्मेदवार मनोनयन दर्ता गर्ने समयमा माओवादी कार्यकर्ताहरु टिकटको कुरालाई लिएर आफैं आफैं बीचमा कुटपिट गरेको भिडियो सार्वजनिक गरी महेश बस्नेतलाई लखेटियो भन्ने भ्रम फैलाएको भन्दै त्यसको कानुनी उपचार खोजिने बताएका हुन् ।
मंगलबार सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल भइरहेको छ ।
मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बस्नेत अफवाह फैलाएर आफ्नो चरित्र हत्या गर्नेहरूविरूद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने जानकारी दिएका छन् ।
‘माओवादी केन्द्रका अराजक तत्वहरू केशव थुलुङ्ग, एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरूपयोग गरी झुटो प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ,’ उनले भनेका छन्,‘ आम हाम्रो सुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै, सामाजिक सञ्जालको दुरूपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरूलाई कानुनी कारबाही गर्नेछौं। तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।’
बस्नेतले पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन शाहबारे दिएको अभिव्यक्ति विवादमा परेको थियो ।