काठमाडौं, असार ९- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं महानगरपालिकाको स्तरोन्नति, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने भएको छ ।
एनआरएनएको प्रतिनिधिमण्डल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको भेटमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको स्मरण गराएका थिए ।
त्यस्तै गत वर्ष नै टेण्डर आह्वान गरी बनाउन लागेको सार्वजनिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र महानगरपालिकाले जग्गा उपलब्ध गराए एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने घोषणा गर्दै उक्त शौचालय व्यवस्थापनको निमित्त महानगरपालिकालाई आग्रह गरे ।
उनले फोहोर व्यवस्थापनको निमित्त विभिन्न देशहरूको उच्चस्तरीय प्रविधिको विषय पनि मेयर शाहलाई जानकारी गराएका थिए ।
संघका उपाध्यक्ष महेशकुमार श्रेष्ठले काठमाडौं सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न एनआरएनए तयार रहेको बताए ।
भेटमा मेयर शाहले काठमाडौंको कला-संस्कृति, सम्पदालाई विश्व सञ्जालमा चिनाउनको निमित्त संघलाई आग्रह गरे । त्यस्तै ‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गरेका थिए ।
एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउन, व्यवस्थापन गर्न महानगरपालिका सकारात्मक रहेको मेयर शाहले जवाफ दिएका थिए ।
भेटमा युरोपका क्षेत्रीय संयोजक चिंतामणि सापकोटा, युरोपका युवा संयोजक रमेश काफ्ले, आईसीसी सदस्य प्रदीप न्यौपानेलगायतका अभियन्ताको उपस्थिति रहेको थियो ।