२९ कार्तिक, काठमाडौं । जनताको भरोसा भत्काउँदै सरकार, सत्ता उन्मादमा कानुनी शासनसमेत बिर्सियो स् प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनताको विश्वास गुमाउँदै गएको आरोप लगाएका छन्।
आज कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या र सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको बताए।
उनले जनताको विश्वास जित्नुपर्ने सरकार उल्टै लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासन कमजोर पार्ने दिशामा अघि बढेको आरोप लगाए। निर्वाचन जित्दैमा कानुन मिच्ने छुट कसैलाई नहुने भन्दै उनले सरकारलाई लोकतान्त्रिक पद्धति र कानुनी शासनको सम्मान गर्न आग्रह गरे।
सरकारले कानुनी प्रक्रियाको नाममा नागरिकलाई तर्साउने काम गर्न नहुने उनको चेतावनी थियो। साथै, कांग्रेस रहुन्जेल लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि कसैले अंकुश लगाउन नसक्ने पौडेलले स्पष्ट पारे।

























