काठमाडौँ । जलवायु परिवर्तनका असर र हिमाली क्षेत्रका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्की प्रस्थान गरेका छन्।
टर्कीको अन्टाल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उनी त्यसतर्फ गएका हुन्।
मन्त्री खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् भने नोभेम्बर ११ र १२ मा हुने विश्व नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउने कार्यक्रम छ।
सम्मेलनमा नेपालसहित ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने हिमाली क्षेत्र, हिमनदी संरक्षण, जलवायु उत्थानशीलता तथा दिगो वित्तीय व्यवस्थासम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि खनाल सहभागी हुनेछन्।
त्यसैगरी उनले विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा भाग लिनुका साथै अन्य देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाली टोलीमा स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा। डा। सञ्जय आचार्य, मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सरकारी अधिकारी सहभागी छन्।
मन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

























