२० कार्तिक, काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता हुने वा नहुनेबारे आज टुंगो लाग्ने भएको छ।
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर डा। मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेपछि कार्की न्याय माग्दै सर्वोच्च पुगेका थिए।
सर्वोच्च प्रशासनले बिहीबार रिट अध्ययनका लागि राखे पनि दर्ता गरेको थिएन।
कार्कीनिकट अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार अध्ययनमा समय लागेकाले निवेदन दर्ता हुन नसकेको हो।
रिट शुक्रबार दर्ता भए पनि तिहार बिदाका कारण प्रारम्भिक सुनुवाइ भने बिदापछि मात्रै हुने सम्भावना छ।

























