२० कार्तिक, काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले शव टुक्रा पारेको अदालतमा स्वीकार गरेका छन्।
बिहीबार बयान दिँदै भट्टले सन् २०२४ जुलाई ३० मा शयनकक्षमा ममतालाई मृत अवस्थामा भेटेपछि शव टुक्र्याउने निर्णय गरेको बताएका हुन्।
उनले सुरुमा जीवनरक्षक उपाय अपनाए पनि सफल नभएपछि शव बाथरुममा लगेर टुक्र्याउने प्रयास गरेको बयान दिएका छन्।
ममताको शव अहिलेसम्म फेला परेको छैन। शव लुकाएको र क्षतविक्षत पारेको अभियोग लागेका भट्ट सन् २०२४ अगस्टदेखि हिरासतमा छन्।
























