१५ कार्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुक ठूलो संकटतर्फ उन्मुख भइरहेको भन्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताप्रति चिन्ता व्यक्त गरेका हुन्।
उनले अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, बढ्दो प्राकृतिक विपत्ति, युवाहरूको विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा चुलिँदो निराशाले देश गम्भीर संकटतर्फ अघि बढिरहेको संकेत गरेको बताएका छन्।
भट्टराईले अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न नसक्ने उल्लेख गर्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्न आग्रह गरेका छन्।
उनले सकारात्मक योगदान दिन सक्नेले योगदान गर्न र नसक्नेले कम्तीमा नकारात्मक गतिविधि नगर्नसमेत अपिल गरेका छन्।

























