१४ कार्तिक, काठमाडौं । विभिन्न सञ्चारमाध्यमका पत्रकार पक्राउ परेको घटनाको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ।
पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताबारे बहस चर्किरहेका बेला बस्न लागेको रास्वपा सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ।
यद्यपि, बैठकमा पत्रकार पक्राउ प्रकरणबारे छलफल हुने वा यस विषयमा कुनै निर्णय लिइनेबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन।

























