काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा आजदेखि आठ दिनसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण लाइन भूमिगत गर्ने कामका लागि कात्तिक १३ देखि २० गतेसम्म बिहान १०स्३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् कटौती हुनेछ।
प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक १३ गते हाई भिजन कोलोनी, १४ गते कलंकीदेखि स्युचाटार सबस्टेसन क्षेत्र र १५ गते कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् सेवा प्रभावित हुनेछ।
त्यस्तै, कात्तिक १६ गते कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसन, १७ गते यूएनपार्कदेखि बिजुली बजार, १८ गते धौलागिरि आवास तथा मातातीर्थ पीएसएस र १९ गते हाज्मा पुल क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।
कात्तिक २० गते पुनः धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले सम्बन्धित क्षेत्रका उपभोक्तालाई विद्युत् कटौतीको समयलाई ध्यानमा राख्दै आवश्यक तयारी गर्न आग्रह गरेको छ।


























