काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित मेट्रो रेलमार्ग कागेश्वरी मनोहरा नगरपालिका हुँदै साँखुसम्म विस्तार गर्न नगर प्रमुख उपेन्द्र कार्कीले जोड दिनुभएको छ। बिहीबार नगरपालिकामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को प्राविधिक टोलीसँग भएको छलफलका क्रममा नगर प्रमुख कार्कीले प्रस्तावित रेलमार्ग नगर क्षेत्र हुँदै साँखुसम्म विस्तार गर्न माग गर्नुभएको हो।
काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सार्वजनिक यातायातको चाप घटाउने उद्देश्यले अघि बढाइएको मास र्यापिड ट्रान्जिट (MRT) परियोजनाबारे सम्भाव्यता, रुट, लागत र लगानीबारे जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को प्राविधिक टोलीले उपत्यकाका विभिन्न नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरिरहेको छ। यसै क्रममा काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकामा पनि प्रस्तावित रेलमार्ग र सम्भावित रुटबारे छलफल भएको हो।
प्रस्तावित रुटको नक्सामा कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ९ क्षेत्रसमेत देखाइएको छ।
नगर प्रमुख कार्कीको माग कार्यान्वयन भएमा उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा र साँखु क्षेत्रका बासिन्दालाई समेत आधुनिक सार्वजनिक यातायातको पहुँच विस्तार गर्ने सम्भावना रहनेछ।
काठमाडौं उपत्यका सहरी यातायात गुरुयोजना (Kathmandu Valley Urban Transport System Master Plan) अन्तर्गत प्रस्ताव गरिएको भक्तपुर–रत्नपार्क MRT रेलमार्ग १४.६ किलोमिटर लामो हुने प्रारम्भिक विवरणमा उल्लेख छ। यसमा ११ वटा स्टेशन प्रस्ताव गरिएका छन्।
प्रस्तावित रेलमार्ग भक्तपुरको जगाती क्षेत्रबाट सुरु भएर सूर्यविनायक, सल्लाघारी, मध्यपुर थिमि, गठ्ठाघर, जडीबुटी, तिनकुने, नयाँ बानेश्वर र बबरमहल हुँदै रत्नपार्कसम्म पुग्ने अवधारणा छ।
रेलमार्गका पहिलो छवटा स्टेशन भक्तपुर र मध्यपुर थिमि क्षेत्रका विभिन्न स्थानमा प्रस्ताव गरिएका छन्।
स्टेशन १ : जगाती — भक्तपुर तथा सूर्यविनायक क्षेत्र
स्टेशन २ : सूर्यविनायक — भक्तपुर तथा सूर्यविनायक क्षेत्र
स्टेशन ३ : सल्लाघारी — भक्तपुर तथा सूर्यविनायक क्षेत्र
स्टेशन ४ : मध्यपुर थिमि — मध्यपुर थिमि नगरपालिका
स्टेशन ५ : थिमि — मध्यपुर थिमि नगरपालिका
स्टेशन ६ : गठ्ठाघर — मध्यपुर थिमि नगरपालिका
त्यसपछिका स्टेशन जडीबुटी, तिनकुने, नयाँ बानेश्वर र बबरमहल क्षेत्र हुँदै रत्नपार्कसम्म रहने प्रस्ताव छ। यद्यपि, बाँकी स्टेशनका आधिकारिक नाम र स्थानको अन्तिम विवरण सम्बन्धित निकायबाट पुष्टि गर्नुपर्ने हुन्छ।
प्रस्तावित MRT रेलमार्गले काठमाडौं उपत्यकाका पाँच स्थानीय तहलाई प्रभाव पार्ने प्रारम्भिक विवरणमा उल्लेख छ। ती स्थानीय तहमा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका रहेका छन्।
प्राविधिककाअनुसार प्रस्तावित रेलमा ६ वटा कार रहनेछन्। रेलको कुल लम्बाइ १२४ मिटर र प्रत्येक कारको क्षमता २२० जना हुने उल्लेख छ। यसअनुसार एउटा रेलमा सैद्धान्तिक रूपमा १ हजार ३२० यात्रु अटाउन सक्छन्।
रेलको अधिकतम गति प्रतिघण्टा ११० किलोमिटर हुने प्रस्ताव छ। सञ्चालनका क्रममा एलिभेटेड खण्डमा प्रतिघण्टा १०० किलोमिटर र भूमिगत खण्डमा प्रतिघण्टा ८० किलोमिटरको गति निर्धारण गर्ने प्रारम्भिक विवरणमा उल्लेख छ।
यात्रु बोक्ने क्षमताका हिसाबले परियोजनाको लक्ष्य प्रतिघण्टा प्रतिदिशा २० हजार यात्रु (PPHPD) रहेको उल्लेख छ।
समयतालिकाअनुसार प्रस्तावित MRT परियोजनाको वातावरणीय अध्ययन सन् २०२६ को डिसेम्बरसम्म सम्पन्न गरी अन्तिम प्रतिवेदन तयार गर्ने लक्ष्य राखिएको छ।
अध्ययनका क्रममा स्थलगत निरीक्षण, आधारभूत तथ्याङ्क सङ्कलन, सरोकारवालासँग अन्तर्वार्ता तथा समूहगत छलफल, हावा–पानीको गुणस्तर र ध्वनि मापन तथा सम्भावित वातावरणीय प्रभावको मूल्याङ्कन गर्ने काम अघि बढाइएको विवरण छ।
निर्माणका क्रममा धुलो, आवाज, कम्पन, निर्माणजन्य फोहोर, ट्राफिक अवरोध तथा खानेपानी, विद्युत् र ढलजस्ता पूर्वाधारमा पर्न सक्ने प्रभावलाई समेत अध्ययनमा समेटिनेछ।
यस्तै काठमाडौं उपत्यका सहरी यातायात गुरुयोजनाले कुल ५८ किलोमिटर लम्बाइका तीनवटा MRT लाइन प्रस्ताव गरेको विवरण छ। पहिलो लाइन भक्तपुर–रत्नपार्क करिडोर हो। दोस्रो लाइन महाराजगञ्ज–रत्नपार्क–सातदोबाटो रुटमा तथा तेस्रो लाइन रिङरोड क्षेत्रमा प्रस्ताव गरिएको छ।

























