काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैंको समयमा पनि कागेश्वरी मनोहरा नगर अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवा २४सै घण्टा उपलब्ध गराउने भएको छ।
अस्पताल प्रशासनले सूचना जारी गर्दै दशैं अवधिमा इमर्जेन्सी सेवा, रेबिजविरुद्धको खोप सेवा, फार्मेसी, काउन्टर, प्रयोगशाला, एक्स–रे र एम्बुलेन्स सेवा निरन्तर सञ्चालन हुने जनाएको छ। चाडपर्वका समयमा बिरामीलाई स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ नहोस् भन्ने उद्देश्यले यी सेवा नियमित राख्न लागिएको हो।
अस्पतालका अनुसार बहिरङ्ग सेवा (ओपीडी) भने २०८३ साल कात्तिक ५ गतेदेखि नियमित रूपमा सञ्चालन हुनेछ। ओपीडी सेवा सञ्चालन हुने मितिसम्बन्धी जानकारीसमेत सर्वसाधारणलाई गराउन अस्पताल प्रशासनले सूचना प्रकाशित गरेको छ।
दशैंको अवसरमा अस्पतालले सम्पूर्ण सेवाग्राही, नगरवासी तथा नेपाली दाजुभाइ–दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेको छ। साथै, हालसम्म अस्पतालको सेवा प्रवाहप्रति विश्वास र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै चाडपर्वको समयमा पनि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
































