Skip
आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीको हुंकार : ‘जति हाने पनि ढल्दिनँ’, बुढो भएको छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २५ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध विभिन्न प्रहार भए पनि पछि नहट्ने बताएका छन्।

आज काठमाडौंमा आयोजित पार्टीको जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूलाई जति नै प्रहार गरे पनि ढाल्न नसकिने दाबी गरे।

महाभारतका भीष्म पितामहको प्रसंग उल्लेख गर्दै ओलीले आफू अझै त्यति बूढो नभएको टिप्पणी गरे।

उनले आफू नजिक आएर ‘कमरेड’ भन्नेहरूले समेत छुरा हानेको भन्दै राजनीतिक जीवनमा विभिन्न प्रकारका प्रहार खेप्नुपरेको बताए।
‘म त्यति बूढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ,’ ओलीले भने।

आफूले साढे पाँच दशकभन्दा लामो समय देश र जनताको हितका लागि राजनीतिमा बिताएको उनको भनाइ थियो।

५७ वर्षअघि राजनीतिक आन्दोलनको पुनर्गठन र एकीकरण गर्दै अघि बढेको स्मरण गराउँदै उनले पञ्चायती व्यवस्था अन्त्य र राजतन्त्रको पतनलाई आफ्नो राजनीतिक यात्राका महत्त्वपूर्ण घटनाका रूपमा प्रस्तुत गरे।

ओलीले विगतमा पनि राज्यबाट आफूविरुद्ध झुटा मुद्दा लगाइएको र जेलमा राखिएको दाबी गरे। जीवन रहुन्जेल संघर्ष जारी राख्ने बताउँदै उनले आफू कसैसँग नझुक्ने धारणा व्यक्त गरे।

‘कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुन्जेल लडिन्छ। बाँचुञ्जेलसम्म बैरीसँग झुकिँदैन,’ उनले भने।

आफ्नो व्यक्तिगत स्वार्थका लागि नभई देशका लागि काम गरेको दाबी गर्दै ओलीले मृत्युको डरले आफ्नो राजनीतिक यात्रालाई प्रभावित नगर्ने बताए।

 


प्रतिकृया दिनुहोस्