काठमाडौं । श्रीलंकाको भ्रष्टाचार निवारण निकायले पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेकी श्रीमती शिरन्थी राजपाक्षेलाई वित्तीय अनियमितताको मुद्दामा बुधबार गिरफ्तार गरेको छ ।
उनको परोपकारी संस्था ‘सिरिलिया सविया फाउन्डेसन’ले बालबालिका तथा क्यान्सर अस्पतालहरूका लागि संकलन गरेको दानको दुरुपयोग गरेको आरोप उनीमाथि लगाइएको छ ।
अनुसन्धान निकायहरूका अनुसार उक्त संस्थाले एउटा क्यान्सर अस्पतालका लागि पीईटी स्क्यानर खरिद गर्ने नाममा करिब एक करोड श्रीलंकाली रुपैयाँ बराबरको चन्दा संकलन गरेको थियो ।
यद्यपि, अनुसन्धानका क्रममा उक्त स्क्यानर चिनियाँ सरकारले पहिले नै दान गरिसकेको खुलेको छ । त्यसका बाबजुद पनि चन्दा संकलन अभियान जारी राखिएको र रकमको दुरुपयोग भएको आशंका छ ।
७३ वर्षीया शिरन्थी राजपाक्षे हालै उपचारका लागि सिंगापुर गएकी थिइन् । स्वदेश फर्किएलगत्तै उनलाई सोधपुछका लागि बोलाइएको थियो । उनले यी आरोपहरूलाई अस्वीकार गर्दै कुनै पनि रकमको दुरुपयोग नभएको बताएकी छन् ।
राष्ट्रपति अनुरा कुमार दिसानायकेको सरकारले हालैका महिनाहरूमा राजपाक्षे परिवारसँग जोडिएका भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धानलाई तीव्र बनाएको छ । राजपाक्षे परिवारले भने यी आरोपहरूलाई राजनीतिक प्रतिशोध भन्दै आएको छ । बीबीसी































