काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–५ को आयोजनामा दशैंको अवसर पारेर वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिता आगामी असोज २४ गते आयोजना हुने वडा कार्यालयले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँ तथा द्वितीय हुने टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिम तथा खेलाडीले आवश्यक कागजात आगामी असोज २२ गतेभित्र वडा कार्यालयमा पेश गर्नुपर्नेछ। प्रतियोगितामा सहभागी खेलाडी वडा नम्बर–५ को स्थायी बासिन्दा भएको प्रमाण आवश्यक पर्नेछ।
स्थायी बासिन्दा नभएको अवस्थामा सम्बन्धित खेलाडीले बसाइँसराइको प्रमाणपत्र पेश गर्नुपर्नेछ। त्यसैगरी, बसाइँसराइको प्रमाण नभएका खेलाडीको हकमा एकाघर परिवारको नाममा रहेको घरजग्गाको प्रमाणित प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
वडासदस्य सुशान्त श्रेष्ठले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धात्मक बनाउन निर्धारित मितिभित्रै आवश्यक कागजात पेश गरी सहभागिता जनाउन सम्बन्धित सबैलाई अनुरोध गरे।
दशैंको अवसरमा आयोजना हुने प्रतियोगिताले वडाभित्रका युवालाई खेलकुदमा जोड्नुका साथै प्रतिभावान खेलाडी पहिचान र खेलकुदको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
































