३ असोज,काठमाडौं । नेपाल पत्रकार महासंघले भोटेकोसी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई तत्काल राहत तथा सहयोगस्वरूप रु १/१ लाख उपलब्ध गराउने निर्णय गरेको छ।
महासंघले बाढीमा परेका नयाँ पत्रिका शाखाका सदस्य तथा महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही रु एक लाख उपलब्ध गराउने भएको हो। पत्रकार थामीको आजै कुशको शव बनाइ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।
यस्तै, परिवार तथा घरबाससमेत गुमाएका रसुवा शाखाका सदस्य निराजन पौडेललाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराइने भएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा अन्य प्रभावित पत्रकार र सञ्चारमाध्यमका सवालमा महासंघका सम्बन्धित जिल्ला शाखामार्फत प्राप्त हुने क्षतिको तथ्यांक विवरण र आवश्यकताका आधारमा मापदण्ड तयार पारी सोहीअनुसार सहायता वितरण गरिने जनाइएको छ ।































