Skip

Hamro Sanchar

साउनमा मात्रै भित्रीयो २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २ गते


Advertisement

२ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउनमा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) २१.२ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा नेपालीले विदेशबाट पठाएको रकम २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा गणना गर्दा पनि साउनमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेर १ अर्ब ४० करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर पनि बढेको छ। साउनमा खुद द्वितीय आय २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको साउनमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ थियो।

यता, वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या भने घटेको छ। साउनमा संस्थागत तथा व्यक्तिगततर्फ नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६९३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४४ हजार ४६६ जनाले नयाँ अन्तिम श्रम स्वीकृति लिएका थिए।

तर, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ। साउनमा २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २३ हजार ६४४ थियो।

 


प्रतिकृया दिनुहोस्