३१ भदौ, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कपको फाइनलमा अम्पायरको निर्देशन नमानेको आरोपमा नेपालका रोहित पौडेलसहित तीन खेलाडीलाई कारबाहीमा गरिएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)का अदीब उस्मानी र खुजैमा तनवीर तथा नेपालका रोहितलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को आचारसंहिताको लेभल–१ उल्लंघन गरेको भन्दै जरिवाना गरिएको हो ।
अदीब र रोहितलाई खेल शुल्कको १५ प्रतिशत जरिवाना गरिएको छ । उनीहरूले आईसीसीको खेलाडी तथा खेलाडी सहयोगी कर्मचारीसम्बन्धी आचारसंहिताको धारा २।४ उल्लंघन गरेको ठहर भएको छ । उक्त धारा अन्तर्राष्ट्रिय खेलमा अम्पायरको निर्देशन पालना नगरेसँग सम्बन्धित छ ।
मलेसियाको क्वालालम्पुरमा शनिबार भएको फाइनलमा नेपालको इनिङ्सको ३१औँ ओभरमा अदीब र रोहितबीच चर्काचर्की भएको थियो । स्थिति नियन्त्रणमा लिन अम्पायरले दिएको निर्देशन उनीहरूले पालना नगरेको आईसीसीले जनाएको छ ।
यस्तै, यूएईका खुजैमा तनवीरलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ । उनले आचारसंहिताको धारा २।२ उल्लंघन गरेको ठहर भएको हो । उक्त धारा अन्तर्राष्ट्रिय खेलका क्रममा क्रिकेट सामग्री, पोसाक, मैदानका सामग्री वा संरचनाको दुरुपयोगसँग सम्बन्धित छ ।
यूएईको इनिङ्सको ४६औँ ओभरमा आउट भएपछि खुजैमाले ब्याटले स्टम्पमा प्रहार गरेका थिए ।
तीनै खेलाडीको अनुशासनात्मक अभिलेखमा एक–एक डिमेरिट अंकसमेत थपिएको छ । पछिल्लो २४ महिनामा उनीहरूविरुद्ध कुनै अघिल्लो अपराध नभएकाले उनीहरूको अभिलेखमा यो पहिलो कारबाही हो ।
तीनै खेलाडीले आफ्नो गल्ती स्वीकार गर्दै आईसीसी अन्तर्राष्ट्रिय अम्पायर प्यानलका म्याच रेफ्री अली नक्वीले प्रस्ताव गरेको कारबाही स्वीकार गरेका थिए । त्यसैले औपचारिक सुनुवाइ आवश्यक नपरेको आईसीसीले जनाएको छ ।
मैदानमा रहेका अम्पायर कालिदास विश्वनाथन र तबारक दार तथा रिजर्भ अम्पायर विनोद बाबुले उनीहरूविरुद्ध आरोप लगाएका थिए ।
आईसीसीको लेभल–१ उल्लंघनमा न्यूनतम आधिकारिक चेतावनी, अधिकतम खेल शुल्कको ५० प्रतिशतसम्म जरिवाना तथा एक वा दुई डिमेरिट अंकको व्यवस्था छ ।
































