९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा करार सेवाका लागि ३३ जना कर्मचारी माग गरेको छ।
बैंकको केन्द्रीय कार्यालयले अनलाइनमार्फत दरखास्त आह्वान गर्दै रिक्त रहेका विभिन्न पदमा कर्मचारी माग गरेको हो।
बैंकका अनुसार रक्षक १ जना, सिपाही ४ जना, सवारी चालक (हलुका) १० जना, सवारी चालक (बस) ३ जना, डिस्पेन्सरी २ जना र कार्यालय सहयोगी १३ जना गरी कुल ३३ जनाका लागि आवेदन खुलाइएको छ।
रक्षक पदका लागि एसईई वा सो सरह उत्तीर्ण तथा नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त जमदार वा सुवेदार वा सो सरहको योग्यता तोकिएको छ। सिपाहीका लागि कक्षा ८ उत्तीर्ण तथा नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त हुद्दा वा अमलदार वा प्युठ वा सिपाही वा सो सरहको अनुभव आवश्यक छ।
सवारी चालक (हलुका तथा बस) पदका लागि कक्षा ८ उत्तीर्ण हुनुका साथै सम्बन्धित क्षेत्रमा तोकिएको अनुभव र वैध सवारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ।
डिस्पेन्सरी पदका लागि स्टाफ नर्स वा डिप्लोमा फार्मेसी उत्तीर्ण तथा सम्बन्धित संस्थामा कम्तीमा ५ वर्षको कार्यानुभव माग गरिएको छ।
त्यस्तै, कार्यालय सहयोगी पदका लागि कक्षा ८ उत्तीर्ण तथा नेपाल सरकार, नेपाल राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थामा कार्यालय सहयोगी पदमा काम गरी निवृत्तिभरण प्राप्त गरेको अनुभव वा सो सरहको योग्यता तोकिएको छ।
दरखास्त दिन चाहने उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक नेपाली नागरिकले २०८३ भदौ ९ गतेदेखि भदौ २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
आवेदन बैंकको वेबसाइटमा रहेको Career अन्तर्गत Online Portal for Contract Application बाट पेश गर्न सकिनेछ। आवेदन शुल्क रु. ५०० तोकिएको छ।
उम्मेदवार छनोट पदअनुसार लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्तामार्फत गरिने बैंकले जनाएको छ।
छनोट भएका कर्मचारीसँग ६ महिनाको करार सम्झौता गरिनेछ। काम गर्नुपर्ने कार्यालय आवश्यकता अनुसार बैंकको केन्द्रीय कार्यालय तथा प्रदेशस्थित कार्यालयहरूमा खटाउन सकिने जनाइएको छ।































