Skip

Hamro Sanchar

कस्ले गर्यो गायिका समीक्षालाई फरक-फरक नम्बरबाट ५ सय पटक फोन ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ६ गते


Advertisement

६ भदौ, काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई करिब डेढ वर्षदेखि एउटै व्यक्तिले फरक–फरक मोबाइल नम्बरबाट पटक–पटक फोन गरिरहेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेकी छन्।

अधिकारीका अनुसार फोन उठाउँदा ती व्यक्तिले आफूलाई ‘रमेश शाही’ भनेर परिचय दिने गरेका छन्। तर, फोन गर्नुको कारण सोध्दा आफ्नो नामबाहेक अन्य कुनै स्पष्ट जानकारी नदिने गरेको उनको भनाइ छ।

एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट पुनः फोन आउने गरेको भन्दै उनले डेढ वर्षको अवधिमा करिब ५०० वटा फरक–फरक नम्बर ब्लक गरेको दाबी गरेकी छन्। उनका अनुसार अहिले पनि अरू व्यक्तिको मोबाइल नम्बर प्रयोग गरेर आफूलाई फोन गर्ने क्रम रोकिएको छैन।

लामो समयदेखि यस्तो समस्या भोग्दै आएपछि बाध्य भएर सार्वजनिक रूपमा कुरा राख्नुपरेको उनले बताएकी छन्।

अधिकारीले आफ्नो मोबाइल नम्बर कसैले माग्दैमा बिना कारण र सोचविचार नगरी अरूलाई उपलब्ध नगराइदिन सबैसँग आग्रह गरेकी छन्।

उनले सम्बन्धित व्यक्तिले आफ्नो नम्बर किन र के प्रयोजनका लागि मागेको हो भन्ने बुझेर मात्र नम्बर दिन अनुरोध गरेकी छन्।

त्यस्तै, उक्त व्यक्तिलाई आफ्नो मोबाइल नम्बर उपलब्ध गराउनेहरूलाई पनि सोचेर र बुझेर मात्र आफ्नो नम्बर दिन उनले आग्रह गरेकी छन्।

यो विषय कसैलाई अनावश्यक रूपमा आरोप लगाउने उद्देश्यले नभई लामो समयदेखि भइरहेको फोन गर्ने क्रम रोकियोस् भन्ने उद्देश्यले सार्वजनिक गरेको अधिकारीले स्पष्ट पारेकी छन्।


प्रतिकृया दिनुहोस्