२९ साउन, काठमाडौं । झरना थापाको निर्देशनमा बन्ने चलचित्र ‘ए मेरो हजुर–५’को शुभमुहूर्त गरिएको छ ।
निर्माण टिमले आज ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो ।
बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताइन् ।
चलचित्रमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिनेछन् । यो उनीहरूको तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर–३’ र ‘ए मेरो हजुर–४’ एकसाथ अभिनय गरेका थिए ।
सिनेमाका निर्माता सुनीलकुमार थापा हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् ।
अनमोल र सुहानासहित सिनेमामा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ ।
यो चलचित्र नेपाली नयाँ वर्ष २०८४ को अवसरमा प्रदर्शनमा आउनेछ ।































