
७ साउन, काठमाडौं । अभिनेता राजेश हमालले
बालेन शाह नेतृत्वको सरकारको कार्यशैली माथि कटाक्ष गरेका छन् ।
हमालले सरकारको यही शैलीमा चल्ने हो भने देश प्रगतितर्फ नभई ठप्प अवस्थातर्फ उन्मुख हुन सक्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै हमालले भविष्यको पूर्वानुमान गर्न नसकी दैनिक व्यवस्थापनमै अल्झिने हो भने देश ठप्प अवस्थामा जान सक्ने कठोर टिप्पणी गरेका हुन् ।
उनले देशको शासन प्रणाली दीर्घकालीन सोच, तथ्यमा आधारित र स्पष्ट रणनीतिका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन् । उनले शासन प्रणालीलाई ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको शैलीमा सञ्चालन गर्नु बुद्धिमानी नहुने उल्लेख गरेका छन् ।
कुनै पनि राष्ट्रको विकासका लागि आगामी ५, १० वा २० वर्षको लक्ष्य, योजना र पूर्वानुमान आवश्यक हुने बताउँदै हमालले भनेका छन्, यथार्थपरक पूर्वानुमान गर्न नसकी, केवल दैनिक व्यवस्थापनका समस्यामै अल्झिरहने हो भने, तीव्र गतिमा परिवर्तन भइरहेको आजको विश्वमा देश वास्तवमा प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ ।
राष्ट्रको भविष्य संयोगमा होइन, दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिमा निर्माण हुनुपर्ने हमालको भनाइ छ ।






























