
१७ असार, काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि नेपालका आन्तरिक उडानको टिकट मूल्य पनि समायोजन गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार फ्युल सरचार्ज(इन्धन शुल्क) घटाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुधबार नयाँ फ्युल सरचार्ज दर सार्वजनिक गर्दै भाडा समायोजन गरेको हो ।
प्राधिकरणका अनुसार ट्रंक सेक्टरका लागि इन्धन शुल्क निर्धारण गर्ने आधार मूल्य प्रतिलिटर रु. २६९ बाट घटेर रु। २२९ मा झरेपछि फ्युल सरचार्जमा १४.८७ प्रतिशत ( ४० ले कमी गरिएको हो।
यसअनुसार सबै आन्तरिक हवाई रुटमा यात्रुले तिर्नुपर्ने इन्धन शुल्क घटेको छ। नयाँ व्यवस्थाअनुसार प्रति सिट प्रति मिनेट फ्युल सरचार्ज रु.१२१.८१ कायम गरिएको छ।
राजधानी काठमाडौंबाट हुने उडानमध्ये काठमाडौं–पोखरा रुटमा फ्युल सरचार्ज रु. ४,२७० बाट घटेर रु. ३,६३५ कायम गरिएको छ।
काठमाडौं–भरतपुरमा रु. २,८८५ बाट रु २,४५५, काठमाडौं–जनकपुरमा रु. ३,४६० बाट रु. २,९४५, काठमाडौं–विराटनगरमा रु.६,४६० बाट रु. ५,५०० तथा काठमाडौं–नेपालगञ्जमा रु. ८,७७० बाट रु.७,४६५ निर्धारण गरिएको छ।
त्यसैगरी काठमाडौं–भैरहवा रुटको फ्युल सरचार्ज रु.५,५४० बाट रु.४,७१५, काठमाडौं–धनगढीमा रु. ११,८८५ बाट रु। १०,१२०, काठमाडौं–सुर्खेतमा रु.९,२९५ बाट रु. ७,९१५ तथा काठमाडौं–माउन्टेन फ्लाइटमा रु.९,२३५ बाट रु.७,८६० मा झरेको छ।
पोखराबाट सञ्चालन हुने उडानमा पनि इन्धन शुल्क घटेको छ। पोखरा–विराटनगरमा रु.९,५७५ बाट रु.८,१५०, पोखरा–नेपालगञ्जमा रु. ६,३८० बाट रु.५,४३०, पोखरा–धनगढीमा रु. ९,१७५ बाट रु. ७,८१० र पोखरा–भद्रपुरमा रु. १०,८९५ बाट रु.९,२७५ कायम गरिएको छ।
सबैभन्दा बढी इन्धन शुल्क घटेको रुटमध्ये विराटनगर–धनगढीमा रु.२,५८०, नेपालगञ्ज–भद्रपुरमा रु. २,३३५, जनकपुर–धनगढीमा रु. २,२०० र विराटनगर–नेपालगञ्जमा रु। २,१५० ले कमी गरिएको छ।































