Skip

Hamro Sanchar

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १६ गते


१६ असार, काठमाडौँ । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सामा स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु भएको छ।

आज अपराह्न करिब ४ बजे विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस अगाडि बढ्ने क्रममा पछाडिको चक्काले किच्दा सहचालक लहान नगरपालिका–२२ निवासी २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो।

समिक्षा सप्तरीको बोधेबरसाइन नगरपालिका–८ काचन स्थायी घर भएकी थिइन्। उनी हाल मावलीको घर सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सामा बस्दै आएकी थिइन्।

दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ ।


प्रतिकृया दिनुहोस्