
३१ बैशाख, काठमाडौं । बढ्दो प्रविधिको युगमा बालबालिकालाई इन्टरनेट तथा अनलाईन माध्यमबाट हुन सक्ने जोखिम र शोषणबाट जोगाउन स्थानीय सरकारको भूमिकालाई सशक्त बनाउने उद्देश्यका साथ कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)द्वारा आयोजित एक महत्वपूर्ण कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ ।
आज काठमाडौंको नोर्लिङ्ग रिसोर्टमा सम्पन्न यस गोष्ठीमा बालबालिकाको अनलाईन सुरक्षाका लागि नीतिगत र व्यावहारिक कदमहरूका बारेमा गहन छलफल गरिको छ।
कार्यशाला गोष्ठीमा न्यायिक समितिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, वडा सचिवहरू तथा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।
सहभागीहरूले अनलाईन जोखिम न्यूनीकरणमा स्थानीय तहले खेल्नुपर्ने महत्वपूर्ण भूमिकाबारे आफ्ना अनुभव र विचार आदानप्रदान गरेका थिए।
विशेषगरी, बालबालिकामाथि हुन सक्ने साइबर बुलिङ, यौन शोषण, हानिकारक सामग्रीको पहुँच र व्यक्तिगत जानकारीको दुरुपयोग जस्ता विषयहरूमाथि केन्द्रित रहेर छलफल भएको थियो।
सेलर्डले लामो समयदेखि बालबालिकाको अधिकार र अनलाईन सुरक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।
यस संस्थाले इन्टरनेटको बढ्दो प्रयोगसँगै बालबालिकामाथि देखिने नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न विभिन्न अध्ययन र पैरवी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यस कार्यशाला गोष्ठीले स्थानीय सरकारका प्रतिनिधिहरूलाई अनलाईन सुरक्षाका चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे जानकारी गराउनुका साथै उनीहरूको क्षमता अभिवृद्धिमा समेत सहयोग पुर्याएको छ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापाले प्रविधिको विकाससँगै बालबालिकामाथि अनलाइन माध्यमबाट हुने जोखिम र शोषण बढ्दै गएको भन्दै त्यसको न्यूनीकरणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएकी छन्।





















