
१२ बैशाख, काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईविरूद्ध शान्दार जित निकालेको छ ।
नेपालले श्रृंखलाअन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई० लाई ३७ रनले पराजित गरेको हो ।
खेलमा घरेलु टोलीले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.१ ओभरमा सबै विकेट गुमाएर १६३ रनमै समेटियो ।
यूएईलाई सस्तैमा रोक्न नेपालका करण केसीले चार विकेट लिए । करणले ९.१ ओभर बलिङ गर्दा दुई मेडन ओभर फ्याँक्दै १९ रन खर्चिए ।
सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान एक विकेट लिए । यूएईका हरप्रित भाटियाले सर्वाधिक ३९ रन बनाए ।
कप्तान मोहम्मद वसिमले ३४ रन बनाए । अक्षदीप नाथले ३० रन बनाउँदा ओपनर आर्यन्स शर्मा र निलान्स केसवानीले समान १८ रन बनाए ।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको नेपालले यूएईविरुद्ध ४८.२ ओभरमा सबै विकेट गुमाएर २०० रनकोे योगफल खडा गरेको थियो ।
नेपालको निम्ति उपकप्तान दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले । दीपेन्द्रले ९० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।
उनले आठौँ विकेटको निम्ति करण केसीसँग ४२ रनको साझेदारी गरेका थिए । नेपालको धरमाएको ब्याटिङले ऐरिको इनिङबाट लय लिएको थियो ।
ऐरीको एकदिवसीय अन्तर्राष्ट्रियमा छैटौँ अर्धशतक समेत हो ।ओपनर कुशल भुर्तेलले २४ रन जोडे । करण केसीले २२, बसिर अहमादले २०, आरिफ शेख र सोमपाल कामीले समान १५ र भीम सार्कीले १० रन बनाए । यूएईका अजय कुमार र जुनैद सिद्धिकीले समान तीन विकेट लिए ।
खुजैमा तनविरले दुई विकेट लिँदा हैदर अली र मोहम्मद सहदादले समान एक विकेट लिए । जितसँगै नेपालले १४ अंक जोडेको छ ।
तालिकाको सातौँ स्थानमा रहेको नेपालले २१ खेल खेल्दा ६ जित र १३ हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।
नेपालको दुई खेल भने रद्द भएको थियो । पराजित यूएई भने समान खेल खेल्दा १० अंकमा सीमित भएको छ ।
तालिकाको पुछारमा रहेको यूएईले २० खेल खेल्दा पाँच जित र १५ हार व्यहोरेको छ । अब यी दुईबीचको दोस्रो खेल आगामी मे १ मा हुने तालिका छ ।













