Skip

Hamro Sanchar

विराट गोल्ड कप फुटबल प्रतियोगिता : सम्राट स्पोर्टिङ विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २ गते


२ वैशाख, मोरङ । विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराट गोल्ड कप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको ‘फ्लडलाइट’मा (रात्रिकालीन)नकआउट आधारमा मङ्गलबार सम्पन्न खेलमा सम्राटले भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको छ ।

विर्सामुण्डाका शङ्कर किस्कुले ४४ औं मिनेटमा गोल गरेका थिए भने खेलको ५०औँ मिनेटमा सम्राटका मौसम लिम्बू, ८६औँ मिनेटमा प्रताप तामाङले गोल गरे । खेलको अतिरिक्त ९इन्जुरी० समयमा प्रताप तामाङले पुनः दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अन्तरले विजयी बनाएका छन् । उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ प्लेयर अफ द म्याच घोषित भई नगद रु ११ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता आगामी २०८३ वैशाख ५ गतेसम्म हुने र नेपाल र भारतका गरी आठवटा टोलीले भाग लिएका छन् । विराटनगर गोल्ड कपको ३८औँ संस्करणमा विजेता हुने टिमले रु ११ लाख, उपविजेताले रु पाँच लाख, उत्कृष्ट प्रशिक्षकलाई रु १५ हजार, उत्कष्ट गोलरक्षकलाई रु १५ हजार, सर्वाधिक गोलकर्तालाई रु १५ हजार, सर्वोकृष्ट खेलाडीलाई रु ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद रु ११ हजार पुरस्कार प्राप्त गर्ने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिएका छन्।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्