Skip

Hamro Sanchar

प्रधानमन्त्री कपमा मधेसविरुद्ध वाग्मती ३५ रनले विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २७ गते


काठमाडौं । वाग्मती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशविरुद्ध ३५ रनको जित निकालेको छ ।

शुक्रबार वीरगन्जको नारायणी क्रिकेट मैदानमा वाग्मतीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको मधेस ३४.३ ओभरमा १७३ रन बनाउँदै अल–आउट भयो ।

मधेसलाई सस्तैमा रोक्न वाग्मतीका प्रतिस जिसीको इनिङ निर्णायक बन्यो । टोलीको जितमा प्रतीस एक्लैले पाँच विकेट लिए । ९.३ ओभर बलिङ गरेका उनले ५५ रन खर्चिए ।

रिजन ढकालले दुई विकेट लिए । रिजनले नौ ओभरमा दुई मेडन ओभर फ्याक्दै ४२ रन खर्चिए । कप्तान सन्दीप लामिछाने र सुवास खत्रीले समान एक विकेट लिए ।

मधेसका ओपनर मंयक यादवले सर्वाधिक ४० रन बनाए । मोहम्मद आदिल आलमले २७ रन जोडे । कप्तान अनिलकुमार साहले २६, विशाल सुस्लिगंले २१, महोम्मद समिरले १६ र अभिषेक तिवारीले १० रन बनाए ।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको वाग्मतीले मधेसविरुद्ध ४८.४ ओभरमा सबै विकेट गुमाएर २०८ रनको योगफल खडा गरेको थियो ।

वाग्मतीका उत्तम मगरले सर्वाधिक ४४ रन बनाए । कप्तान सन्दीप लामिछानेले ३६ रन जोडे । ओपनर रिन्जिन लामाले २९, ओपनर आसुतोष घिरैयाले १८, रिजन ढकालले १५ र इशान पाण्डेले ११ रन बनाए ।

मधेसका पवन सराफले तीन विकेट लिए । मोहम्मद आदिल आलम र रञ्जित कुमारले समान दुई विकेट लिए । विशाल पटेल, प्रदीप पास्वान र अरनिको यादवले समान एक विकेट लिए ।

जितसँगै वाग्मतीले प्रतियोगितामा आठ अंक जोडेको छ । तालिकाको छैटौँ स्थानमा उक्लिएको वाग्मतीले आठ खेल खेल्दा समान चार जित र हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।

पराजित मधेस भने हारका बाबजुद नौ अंकका साथ तालिकाको चौथो स्थानमा आसिन छ ।


प्रतिकृया दिनुहोस्