
२४ चैत, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न देशमा पठाइएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले राजनीतिक पृष्ठभूमिबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
फिर्ता बोलाइएका राजदूतमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव र दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे रहेका छन्।
त्यस्तै, श्रीलंकाका लागि नियुक्त डा. पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठलाई सरकारले फिर्ता बोलाएको छ ।
सरकार परिवर्तनसँगै अघिल्लो सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउने अभ्यासलाई निरन्तरता दिँदै यो कदम चालिएको हो ।
फिर्ता हुने राजदूतलाई आफ्नो कार्यकालको बाँकी अवधि छोडेर स्वदेश फर्कन निश्चित समय सीमा दिइने परराष्ट्र मन्त्रालयले जनाएको छ । रिक्त रहेका ती कूटनीतिक नियोगमा नयाँ नियुक्तिको प्रक्रिया छिट्टै सुरु हुने बताइएको छ।













