Skip

Hamro Sanchar

दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १९ गते


काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति मिलेको छ।

बिहीबार जिल्ला अदालत, काठमाडौँले व्यवसायी भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरण विभागले भट्टलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतमा म्याद थपको निवेदन दिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बिहीबार व्यवसायी भट्टलाई पक्राउ गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको विभागले जनाएको छ।

भट्टको बयान एक चरण सकिएको भए पनि थप बयान गराउन बाँकी रहेको विभागले जनाएको छ। उनले बिमा ऐन, २०७९ को दफा १४० को कसुर समेतका कसुरजन्य कार्य गरी आर्जन गरेको सम्पत्ति धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरेको आरोप छ।

यसरी आर्जन गरेको सम्पत्ति अन्य क्षेत्रमा लगानी गरी कसुरबाट प्राप्त सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, स्वरुप बदल्ने समेतका कार्य गरेको आरोपमा अनुसन्धान भइरहेको छ। यी आरोपमा उनीमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार थप अनुसन्धानका कार्यहरू गर्न बाँकी रहेको भन्दै विभागले म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो।

न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले अनुसन्धानका लागि पहिलो पटक १० दिनको म्याद लिएको हो। अनुसन्धानका क्रममा भट्टको थप बयान गराउन, बित्तीय सूचना र प्रमाणहरू बुझ्ने, विश्लेषण गर्ने समेतका अनुसन्धान सम्बन्धी कार्यहरू गर्न बाँकी रहेको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ।

भट्टलाई बिहीबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले पक्राउ गरेर विभागमा उपस्थित गराएको थियो। यसअघि नै उनको राहधानी रोक्का गरिएको थियो ।


प्रतिकृया दिनुहोस्