Skip

Hamro Sanchar

नयाँ वर्षदेखि काठमाडौंमा अब यि रुटमा चल्ने छन् रात्रि बस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १९ गते


१९ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ देखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ।

उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो।

थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो।

यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन्।

‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ।’

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ। त्यसमा पनि किशोरी र महिलाहरूले दुर्व्यवहार भोग्नुपरेको छ। विद्यार्थीहरूलाई आर्थिक रूपमा धेरै मर्का छ। यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौँ।’

उनका अनुसार सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य हो। यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला छ।

बस राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछन्।

तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन्।

बसमा सीसीटिभी क्यामरा जडान हुनेछन्। सुरक्षाका लागि नगर प्रहरी हुनेछन्।


प्रतिकृया दिनुहोस्