
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ ।
दिउँसो २ बजे सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा राष्ट्रिय पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने सहमति दलहरूबिच बनेको छ ।
सङ्घीय संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र नेपाली कांग्रेसबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन् ।
लामिछाने पार्टी सभापति हुन् । कांग्रेसका सभापति गगन थापासहितका शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका र दलको नेता नचुनिएकाले आङदेम्बेले सम्बोधन गर्ने तय भएको कांग्रेस नेताहरू बताउँछन् ।
दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठकमा नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ ।
श्रम संस्कृति पार्टीका तर्फबाट अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ ।














