
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको छ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले हिरासतमुक्त गर्ने आदेश दिन अस्वीकार गरेको हो। नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली पत्नि राधिका शाक्यले तत्काल हिरासतमुक्त गर्न आदेश दिन माग गर्दै आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश दिएको छ। रिट निवेदकको माग बमोजिम किन आदेश नदिने हो, त्यसको जवाफ दिन भनेको छ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सरकारले शनिबार ओलीलाई पक्राउ गरेको थियो। त्यही दिन सरकारले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको थियो।
लेखक पन्ती यशोदा लेखकले पनि आइतबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसमा पनि सर्वोच्चले हिरासतमुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ।
यसअघि आइतबार प्रहरीले जिल्ला अदालत, काठमाडौँबाट दुवै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाइएसकेको थियो ।














