Skip

Hamro Sanchar

इनिसा हत्या प्रकरण : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २८ गते


काठमाडौं । गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत शहीद उद्यानस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीषा बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय भएकाले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति भनिएको छ, महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन । सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय भूमिका आवश्यक रहेको छ । महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा अपराधको घटनाहरू रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढीकरण बनाउन पनि सम्बन्धित पक्षहरूलाई ध्यानाकर्षण गर्दछौँ ।

मानवअधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक र मानवअधिकारका लागि महिला एकल महिला समह सुर्खेतले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सत्य तथ्य छानबिन गरी पीडित परिवारलाई उचित न्याय दिनसमेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढङ्गले छानबिन अनुसन्धान हुने तथा कानुनअनुसार न्याय सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको बताएका छन् । सरकारका तर्फबाट यस घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानुनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढाउने भदै पीडित परिवारले न्याय पाउनेमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते उजुरी दिएका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई मङ्गलबार पक्राउ गरी अनुसन्धान थालिएको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा शवपरीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शवपरीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ । सो प्रतिवेदनअनुसार जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा ११ कक्षामा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्

तर बिहान ९ बजेतिर स्थानीयले जनजागरण सामुदायिक वनमा अचेत अवस्था भेटिएकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल सुर्खेत कालागाउँ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तले यही फागुन २५ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएका थिए ।


प्रतिकृया दिनुहोस्