
काठमाडौं । चलचित्र ‘कुमारी’को प्रचारका लागि निर्माण टिमले देशका विभिन्न सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गर्ने भएको छ ।
चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले संगीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिने प्रयासस्वरुप कन्सर्ट गर्न लागेको हो ।
माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगञ्ज, चितवन र धरानमा कार्यक्रम हुनेछ । यी कन्सर्टमा चलचित्रका गायक केहरसिं लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले आफ्नो लाइभ प्रस्तुति दिनेछ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्र माघ २३ गते रिलिज हुँदै छ । चलचित्रमा अविषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । चलचित्रको निर्माता महेन्द्र अधिकारी छन् । कार्यकारी निर्माता केदार भुसाल हुन् ।
चलचित्रको कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् । छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन् ।














