
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव गरेर मुलुकलाई अगाडि लैजाने सोच भ्रम मात्र रहेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, “फागुन २१ गते यही अवस्थामा निर्वाचन गर्नु भनेको समस्यालाई अलिकति पर धकेल्ने मात्र हो । यो समस्याको समाधान होइन ।
०८४ को चुनाव ०८२ मा गर्नका लागि जेनजी आन्दोलन नभएको उनको भनाइ छ । “त्यो विद्रोह आन्दोलन ०८४ को चुनाव ०८२ मा गर्न र एउटालाई हटाएर अर्कोलाई सरकारमा राख्न भएको थिएन । यो व्यवस्थामा नमिलेका कुराहरू परिवर्तन गर्ने, देशमा सुशासनको सुनिश्चितता गर्ने, देशमा शान्ति स्थायित्वको सुनिश्चितता गर्ने र देशभित्रै हाम्रा युवाहरूले गरीखाने वातावरण निर्माण गर्नका लागि थियो, लिङ्देनले भने ।
भूराजनीतिको गम्भीर चक्रब्युहमा देश फसेको उनको भनाइ छ । “यो चक्रब्युहबाट देशलाई निकाल्ने हो भने चुनावअघि नै राजनीतिक दल र आन्दोलनले स्थापित गरेको शक्ति जेनजी पुस्ताको बीच नयाँ समझदारी कायम गरेर मात्र अगाडि जानुपर्दछ, उनले भने, चुनावअगाडि नै नवीन समझदारी मार्फत देशलाई निकास दिनुपर्छ ।”
उनले प्रधानमन्त्री सुशिला कार्कीलाई आग्रह गर्दै भने, “तपाईं मध्यावधि चुनावका लागि मात्र प्रधानमन्त्री बन्नुभएको होइन । तपाईंको काँधमाथि एैतिहासिक जिम्मेवारी पनि छ । त्यसकारण राजा, राजनीतिक दल र जेनजी पुस्ताको एउटा सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुहोस् र देशलाई निकास दिनुहोस् ।ू

















